गौरिकाको कीर्तिमान : चार स्वर्णसहित ९ पदक

२३ मंसिर, काठमाडौं । जलपरी गौरिका सिंहले सोमबार आफ्नो अन्तिम व्यक्तिगत इभेन्टमा प्रतिस्पर्धा गर्नुअघि सबैले सोचेका थिए स्वर्ण नै जित्छिन् । तर १०० मिटर फ्री स्टायलमा हिट चरणमा उन टाइमिङ राम्रो थिएन । गौरिका १ मिनेट ००.२१ सेकेण्डसहित तेस्रो स्थानमा थिइन् ।
पहिलो भएकी भारतकी शिभांगी सिंहले ५८.६६ सेकेण्डको समय निकालेकी थिइन् । भारतकै अन्नी जैन १ मिनेट ००.२१ सेकेण्डसहित दोस्रोमा थिइन् । त्यसैले के होला भन्ने अन्यौल पनि थियो ।
जब इभेन्ट शुरु भयो, नेपाली गौरिका र भारतकी शिभांगी सिंह उही गतिमा अगाडि बढे । दुवै खेलाडी सगैसंगै पौडिरहेका थिए । कसले जित्छ अनुमान गर्न गाह्रो थियो ।
तर गौरिकाले सानो अन्तरमा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी छन् । र तोडिन कीर्तिमान, बनाइन् नयाँ कीर्तिमान । गौरिकाले ५८.१३ सेकेण्डमा दूरी पूरा गर्दा शिभांगीले ५८.१५ सेकेण्ड लगाइन् । ०.०२ सेकेण्डले गौरिकाले स्वर्ण चुमिन् ।
१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीको अन्तिम दिन अर्थात सोमबार सातदोबाटोस्थित पौडी पुलमा भएको १०० मिटर फ्री स्टायल इभेन्टको कहानी हो यो ।
स्वर्ण जितेपछि गौरिकाले पनि निर्धारित दुरी पुरा गर्दा समेत आफूलाई डर लागेको सुनाइन् । ‘दर्शकबाट एकदमै हुटिङ आइरहेको थियो । मलाई शुरुमा हेर्नै डर लाग्यो को जितेको भनेर । पछि मैले जितेछु,’ गौरिकाले सञ्चारकर्मीसँग भनिन् ।
गौरिकाले हरेक इभेन्टमा प्रतिस्पर्धा गर्दा घरेलु समर्थकको अपेक्षा स्वर्ण हुन्थ्यो । र, उनले व्यक्तिगत इभेन्टमातर्फ चार स्वर्ण जितिन् भने दुई रजत । टिम प्रतिस्पर्धामा भने उनले तीन काश्य जितेकी छन् ।
पौडीको सम्पूर्ण इभेन्ट सकिएपछि आमा गरिमा राणाले एक पटक सबै मेडल गौरिकालाई लगाइदिइन्, जतिबेला उनी सञ्चारकर्मीसँग कुरा गरिरहेकी थिइन् । यतिका मेडलले गाह्रो भएको छैन भन्ने प्रश्नमा गौरिकाले भनिन्, अली गह्रौ भएको छ ।’
साँच्चै उनलाई जितेको मेडल र कीर्तिमानले केही बोझ थपेको प्रष्ट हुन्थ्यो । किनकी १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन काश्यसहित दक्षिण एसियाली खेलकुदमा सर्वाधिक सफल नेपाली खेलाडी बनेकी छन् ।
पौडीका समावेश ३८ इभेन्ट मध्ये २७ वटामा स्वर्ण जित्दै भारत टिम च्याम्पियन बन्यो । दोस्रो भएको बंगलादेशले ७ स्वर्ण जित्यो । गौरिकाको कीर्तिमानी ४ स्वर्णको मद्दतमा नेपालले ४ स्वर्णसहित कूल १२ पदक जित्यो ।
नेपालले रजत र कास्य पनि ४-४ वटै जितेको छ ।
एकै संस्करणमा ४ स्वर्णको कीर्तिमान
खासमा गौरिकाले पौडिएपछि कीर्तिमान बन्छ । उनले आफ्नो इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै टाइमिङमा कीर्तिमान बनाउँछिन् भने पदक जित्नेमा पनि कीर्तिमान बनाइन् । गौरिकाले जितेको हरेक स्वर्ण लगायत सबै पदक आफैंमा कीर्तिमान हो ।
गौरिकाले यस पटक ४ स्वर्ण जितिन् । हरेक स्वर्णको आफ्नै कीर्तिमान छ । पौडीको पहिलो दिन गौरिकाले २०० मिटर फ्री स्टायलमा स्वर्ण जितिन् । यो नेपाली खेलाडीले सागमा पौडीतर्फ जितेको पहिलो व्यक्तिगत स्वर्ण थियो । यसअघि सन् १९९९ मा नेपालले महिला रिलेमा स्वर्ण जितेको थियो ।
गौरिकाले २०० मिटर ब्याकस्ट्रोकमा दोस्रो दिन स्वर्ण जितिन् । यो एउटै सागमा उनले जितेको दोस्रो स्वर्ण थियो । १३औं सागमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोका आयशा शाक्यले २-२ स्वर्ण जिते । तर मन्डेकाजी र आयशाले एक स्वर्ण व्यक्तिगत र अर्को टिममा जितेका थिए । गौरिकाले पहिलो र दोस्रो स्वर्ण एकलमा जितेकी थिइन् ।
यस्तै उनले ४०० मिटर फ्री स्टायलमा आइतबार स्वर्ण जित्दै अर्को कीर्तिमान बनाइन् । लेजेण्ड्री म्याराथन धावन बैकुण्ड मान्नधर र तेक्वान्दोकै आयशा शाक्यको ३ स्वर्णको कीर्तिमान गौरिकाले बराबरी गरिन् । साथै एकै सागमा ३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाइन् ।
पौडीको अन्तिम दिन सोमबार १०० मिटर फ्री स्टायलमा स्वर्ण जित्दै गौरिकाले अर्को कीर्तिमान बनाइन् । एकै सागमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनिन् ।