आठ वर्षपछि गाउँपालिकाको प्रशासकीय भवन बन्दै

सुुशीलबाबु थकाली/ मुस्ताङ आवाज
मुस्ताङको थासाङ गाउँपालिकाको प्रशासकीय भवन बनाउनको लागि आठ वर्षपछि सहज वातावरण भएसँगै भवनको भौतिक पूूर्वाधार निर्माणको लागि बाटो खुलेको छ । लामो समयदेखि प्रशासकीय भवनको लागि केन्द्रको विषयमा चरम विवाद हुँदै आठ वर्षसम्म निरन्तर रुपमा निवर्तमान र वर्तमान जनप्रतिनिधिहरुले विभिन्न सास्ति झेल्दै आए पनि अबभने त्यो समस्या टरेको छ ।
समस्याको समाधान सँगै सम्पूर्ण कानूनि प्रक्रिया पूरा गर्दै बुधबार थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचन र उपाध्यक्ष सोमल हिराचनले संयुक्त रुपमा नवनिर्मित गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गर्नुभएको हो । देशमा संघीयता लागु भएपछि वि.सं. २०७३ साल फागुन १६ गतेदेशी करिब आठ वर्ष बढी समय गाउँपालिकाको प्रशासकीय भवन भाडमा बस्दै आएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङ गाउँमा रहेको भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आगामी २०८३ साल फागुन मसान्तसम्म भवन निर्माणको कार्य सम्पन्न गर्ने गरि कामलाई अगाडि बढाएको थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष गौतम शेरचनले बताउनुभयो । वडा अध्यक्ष शेरचनका अनुसार गत महिनामै शर्मा अनिष एण्ड आशिष जेभीले ८ करोड ४९ लाख २ हजार ६१ रुपैयाँमा भवन निर्माणको लागि आवश्यक सम्झौता गरेर काम अगाडी बढाएको बताउनुभयो ।

उक्त प्रशासकीय भवन निर्माणको लागि नेपाल सरकार सहरी विभागमा स्थानीय पूर्वाधार आयोजनाको ६० प्रतिशत र गाउँपालिकाबाट ४० प्रतिशत लगानीमा सम्पन्न हुनेछ । जसमा सभाहल सहित ३० वटा कोठा सहति ३ तले सुविधा सम्पन्न भवन बन्नुका साथै परिशर वरपर आवश्यक पूर्वाधार निर्माण हुने गाउँपालिकाका इन्जिनियर त्रिलोचन गिरीले बताउनुभयो, उहाँले भन्नुभयो–“भवन निर्माणका लागि स्थानीय समाजसेवी, बुद्धिजिवी र अगुवा व्यक्तित्वहरुमध्य विष्णु शेरचनले डेढ रोपानी, प्रदिप गौचन र प्रविण गौचनले तीन रोपनी, दुरेन्द्र शेरचनले एक रोपनी र रत्न शेरचनले आधा रोपनी जग्गा निःशुल्क दान गर्नुभएको थियो ।” गिरीका अनुसार नयाँ बन्ने गाउँपालिकाको प्रशासकीय भवनमा बिशेष गरि अत्याधुनिक प्रशासनिक कक्ष सहित तहगत कर्मचारीका लागि कार्यकक्ष, सुविधा सम्पन्न वैठक कक्ष सहित सभाहल, विषयगत शाखाहरुको लागि कार्यकक्ष, अपाङ्गमैत्री पूर्वाधार कक्ष, स्तनपान कक्ष, व्यवस्थित सवारी पार्किङ स्थल र सबै कर्मचारीहरुको लागि आवास कक्ष निर्माण हुनेछ ।
भवन निर्माण शिलन्यास कार्यक्रममा थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले पालिकाको भवन समयमै सम्पन्न गर्न निर्माण ब्यवसायीलाई अनुरोध गर्नुभएको थियो । बिगतमा झेल्दै आएको तमाम समस्याको समाधान गर्न सम्पूर्ण जनप्रतिनिधि, स्थानीय पालिकाबासी, बुद्धिजिबी र सरोकारवाला निकायले यस विषयमा आवश्यक चासो दिनका लागि समेत अनुरोध गर्नुभएको थियो । गौचनका अनुसार भवन बनेपछि कार्य सम्पादनमा समेत सहज हुने बताउनुभयो, उहाँले भन्नुभयो–“बिगतका दिनहरुमा गाउँपालिकाले जनतालाई दिने सेवा सुविधामा जे जस्तो समस्या आएको भएपनि अब भवन निर्माण भएपछि सेवा प्रवाह चुस्त हुनेछ ।” भवन शिलान्यास कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सकुन्तला अधिकारी, वडा नं २ का वडा अध्यक्ष गौतम शेरचन, पाँचवटै वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु तथा कर्मचारीहरु र स्थानीय जनताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
