जलवायुको असर न्यूनिकरण गर्न नाङ्गा पहाडमा ११ हजार बढी बृक्षारोपण

जलवायु परिवर्तनले बाढी र वन डेढेलोले जैविक विविधतामा ह्रास तथा वातावरणीय प्रदूषण निम्त्याउन थालेपछि मुस्ताङको नाङ्गा पहाडमा अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) एक बर्षको अवधिमा तल्लो र उपल्लो मुस्ताङमा ११ हजार बढी बृक्षारोपण गरेको छ । सार्वजनिकस्थल तथा समुदायसँगको सहकार्यमा भूगोल र माटो सुहाउँदो हरियाली बनाउन तथा समुदायको आयर्आजनमा समेत सघाउने गरी गत आर्थिक बर्ष २०८१÷०८२ मा तल्लो मुस्ताङका पर्यटकीयस्थल, नदी कटानले जोखिममा परेका बस्तीलाई जोगाउन गोब्रे सल्ला, भोटे पिपल,बैस, पैयुँ लगायतका बिरुवा बृक्षारोपण तथा तारबारले संरक्षण गरिएको एक्याप जोमसोमका रेञ्जर दिपक ओलीले बताउनुभयो ।

एक्याप इलाका संरक्षण कार्यालय जोमसोमले ३ हजार ७ सय ७० बिरूवामध्ये कालिगण्डकी नदीको कटानले जोखिममा रहेको कागबेनी, तिरी गाउँ आसपासका क्षेत्रमा बाढीबाट जोगाउन र डढेलोले बन क्षेत्रमा क्षती भएको क्षेत्रमा विभिन्न समयमा बृक्षारोपण गरिएको रेञ्जर ओलीको भनाई छ । रेन्जर ओली भन्नुहुन्छ,‘‘बृक्षारा्ेपण गरेपछि समुदायलाई संरक्षण गर्ने विधिहरू सिकाउँछौ,डढेलोले क्षती पुगेको क्षेत्रमा प्राथमिकता दिइएको छ ।’’एक्याप जोमसोमको नर्सरीबाट समुदाय निजी साझेदारी अन्तरगत ओखर सहित आयआर्जन हुने बिरूवा र भूक्षय, बाढीजस्ता प्राकृतिक विपद्का घटनाको जोखिममा आवश्यक पर्ने २ हजार ९ सय २५ बिरूवा वितरण गरेको जनाएको छ । तल्लो मुस्ताङमा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर आगो लगाउँदा माटोको प्राङ्गारिक तत्व नष्ट र वन्यजन्तुको बासस्थान नासिने जोखिम बढेको अवस्थामा बृक्षारोपणका लागि एक्पायले विभिन्न सचेतनामुलक अभियान समेत सञ्चालन गर्ने गरेको छ । तल्लो क्षेत्रमा बर्सेनि डढेलोको प्रकोप बढेको छ ।

यसैबीच एक्याप इलाका कार्यालय लोमान्थाङले हरियाली बनाउन, तिब्वततर्फबाट बग्ने खोलाले बस्ती कटना गर्ने क्षेत्रमा भोटे पिपल, पशुपालन क्षेत्रमा घाँसका लागि समेत प्रयोग हुने तथा विभिन्न प्रजातिका बिरूवा वितरण गरेको छ । एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार लोमान्थाङ, लो–घेकर दामोदरकुण्डका सबै वडाका साथै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङको माटो सुहाउँदो बृक्षारोपण तथा समुदायलाई ९ सय स्याउको बिरूवा वितरण गरिएको छ । उपल्लो मुस्ताङमा करिब ४५ सय विभिन्न प्रजातिका बिरूवा रोपिएको प्रमुख पौडेलले बताउनुभयो । एक्याप लोमान्थाङ प्रमुख भन्नुहुन्छ,‘‘बृक्षारोपणका लागि समुदायको साथले सहज भएको छ, नाङ्गा पहाड हराबरा बनाउने अभियान छ ।’’ उपल्लो मुस्ताडका स्थानीय तहले हरियाली अभियानमार्फत प्राकृतिक प्रकोप न्यूनीकरण गर्न आन्तरिक स्रोतबाट समेत वृक्षारोपण अभियान सञ्चालन गर्ने गरेको छ । वृक्षारोपण अभियानमा स्थानीय जनप्रतिनिधि,आमा समूह, युवा क्लब, विद्यालmय सहित विभिन्न संघसंस्थाहरूको सहभागिता रहने गरेको छ ।
