लिची भन्सारमा ४ हजार बढी जनताले पाए प्रवेश पास

सुशीलबाबु थकाली
एक वर्षको अवधिमा मात्रै कोरोला नाका हँुदै चिन प्रवेश गर्नको लागि मुस्ताङका ४ हजार भन्दा बढी जनताले जिल्ला प्रशासन कार्यालय जोमसोमबाट प्रवेश पास पाएका छन् । चिनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरोला नाकाबाट चिन प्रवेश गरेर आफ्नो घरायसी प्रयोजनका लागि मुस्ताङका जनताले आवश्यक पर्ने सामान ल्याउन पाउने भएपछि धमाधम प्रवेश पास बनाउन थालेको हो । दुई देशबीचको आपसी समझदारी भएसँगै प्राय कोरोला नाकामा मुस्ताङीको भीड देखिन्छ ।
बिशेष गरि प्रवेश पास पाएपछि मुस्ताङीले घरायसी र ब्यवसायीक प्रयोजनका लागि सामान ढुवानी गर्न पाउने छन् । जसको लागि नेपाल र चीनको सीमास्तम्भ २४ नम्बर पिल्लर नजिक तिब्वती भू–भागमा रहेको ब्यापारिक केन्द्र लिची भन्सारबाट निर्धक्क रुपमा समान ल्याउन पाउनेछ ।
बिशेष गरि कोरोला नाकालाई गण्डकी प्रदेशसँगै देशकै अर्थतन्त्रको लागि ब्यापारिक हिसाबले लाइफलाइन मानिन्छ । जिल्ला प्रशासन कार्यालय जोमसोम मुस्ताङबाट गत आर्थिक बर्ष २०८१÷०८२ मा ४ हजार २ सय २० जनाले चिन प्रवेश पास अनुमति लिएका थिए । कोरोला नाकाबाट सहज रुपमा सामान ल्याउन र आवश्यक प्रयोजन गर्न पाउने भएपछि मुस्ताङका जनता हौसीएको पाइन्छ । यसैबीच गत आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै कोरोला नाकाबाट घरायसी र बिक्रीका लागि थासाङ गाउँपालिकाबाट १ सय ६८ जना, घरपझोङ गाउँपालिकाबाट ४ सय ५८ जना, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट ६ सय ३१ जना, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाबाट ६ सय ३८ जना र लोमान्थाङ गाउँपालिकाबाट २ हजार ३२० जनाले प्रवेश पासको अनुमति लिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका खरिदार प्रकाश पौडेलले जानकारी दिनुभयो, उहाँले भन्नुभयो–“सीमाना पारीबाट घरायसी प्रयोजन र आगन्तुक पर्यटकलाई बिक्री गर्नका लागि सामान ल्याउन मुस्ताङका पाँचवटै गाउँपालिका भित्रका जनताहरुलाई एकबर्षभित्र नविकरण गर्ने गरी अनुमति दिने प्रावधान रहेको छ ।” पौडेलका अनुसार नाकाबाट आवतजावत गर्न जिल्ला बाहिरका मानिसहरुलाई सिमित मात्रामा अनुमति दिइएको हो । जसका लागि भिआइपी, भिभिआपी र सरकारी कर्मचारी रहेको छ । समुन्द्रि सतहदेखि करिब ४ हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाका बि.स २०८० कात्तिक २७ देखि खुल्ला गरिएको थियो ।
मुस्ताङमा सीमा पासको कार्यक्रम सुरु भएपनि पछिल्लो समय कोरोला नाकामा रहेको अध्यागमन कार्यालयमा जनशक्तीको अभाव, भौतिक भूर्वाधार व्यवस्थापनमा समस्या लगायतका कारण जिल्ला प्रशासन कार्यालय जोमसोमबाटै प्रवेश पास वितरण गर्ने गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो । यसका साथै प्रवेश पासको कार्यलाई चुस्त र दुरुस्त गर्नका लागि प्रवेश पास अनुमति पत्र अब डिजिलट बनाउन आवश्यक जनशक्ति तथा आधुनिक उपकरणहरु समेत ल्याइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो, उहाँले भन्नुभयो– ‘‘अब हामीले मुस्ताङबासीलाई डिजिटल अनुमति पत्रनै वितरण गछौं, यसले सेवा प्रवाहमा अझै व्यवस्थित र सहज हुने छ ।’’ प्रजिअ भुषालका अनुसार कोरोला नाकामा मुस्ताङका आम ब्यवसायी र स्थानीयलाई थप सहज हुने गरी विभिन्न चरणहरुमा चिनियाँ पक्षसँग लगातार छलफल भैरहेको समेत उहाँले बताउनुभयो ।

अहिले कोरोला नाकाबाट घरायसी समान ढुवानी केही मात्रामा सहज भएपनि ब्यापारीक प्रयोजनका लागि भने भन्सार, अध्यागमन विभाग, पशु र खाद्य क्वारेन्टाइनको अस्थायी संरचनामा जनशक्ति सहितको सुविधा सम्पन्न संरचना नहुँदा उपल्लो मुस्ताङका ब्यापारीलाई समस्या भएको छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएर तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गर्न थालेपछि चरम विद्रोह हुँदा त्यसयता कोरोला नाका बन्द भएको थियो ।