सेवाग्राहीलाई ध्यानमा राखी कर्मचारी र जनप्रतिनिधिको योगअभ्यास

सुशीलबाबू थकाली/मुस्ताङ १३ साउन
हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले साउनको दोस्रो सातादेखी लागू हुने गरि प्रत्येक दिन कर्मचारीलाई योग अभ्यास गराएर मात्रै दैनिक कार्यमा खटाउने योजना ल्याएको छ । योग गरेर कार्यालय प्रवेश गर्दा शरीरमा नयाँ उर्जा, उमंग र सकारात्मक सोचको बिकास हुने भएकोले घरपझोङ गाउँपालिकाले यो कार्यको थालनी गरेको हो ।

योगअभ्यासले कर्मचारीको दैनिकीमा मात्रै नभई सेवाग्राहीसँग पनि सकारात्मक र स्वस्थ सेवा प्रवाह हुने हुँदा यो कार्य अत्यन्तै सान्दर्भिक रहेको घरपझोङ गाउँपालिकाको अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । मुस्ताङ जिल्लामै पहिलोपटक आयोजना भएको यसप्रकारको कार्यक्रमले आम मुस्ताङका जनतालाई सकारात्मक उर्जा मिल्नुका साथै आफुसँग रहेका नकारात्मक सोच र रोगको समेत निराकरण हुने अध्यक्ष लालचनको जिकिर रहेको छ । शरीरमा नयाँ बिचारको थालनी हुँदा उसको दैनिक कार्यमा समेत परिवर्तन आउने देखिएकोले गाँपालिकाले योगको अभ्यास शुरुआत गरेको हो ।

मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रशिक्षण गर्नुभएको योगअभ्यासमा गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिको संयुक्त उपस्थिति रहेको थियो । यसरी नै सबैको संयुक्त उपस्थितिमा आयोजना गर्ने गरि सुरुआत भएको यस योगअभ्यासले आगामी दिनहरुमा समेत निरन्तरता पाउने घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले बताउनुभयो, उहाँले भन्नुभयो-“योगअभ्यासले सबै कर्मचारीको स्वस्थ जीवनशैलीलाई मद्धत गर्ने छ, प्रथमतः कर्मचारी स्वस्थ भएमा मात्रै सेवा प्रवाह स्वस्थ र पारदर्शी हुने देखिन्छ ।” सुरुआतमा केही समय ढिलाइ भएपनि बिस्तारै यो समय घट्दै १५ मिनेटमा छोट्याउने अधिकारीको जिकिर छ । सबैले समयको महत्त्व बुझे दैनिक कार्य गर्न कुनैपनी समस्या र झन्झट नहुने प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले बताउनुभयो , उहाँले भन्नुभयो-“योगसँगै सेवाग्राहीको कामलाई समेत ध्यानमा राखेर काम गरिने छ ।”

मुस्ताङको सदरमुकाम जोमसोम आसपासका क्षेत्रमा पछिल्ला केही महिनाहरूमा योग अभ्यासको व्यापक प्रचारप्रसार भएको र यसले आम मानिसलाई सकारात्मक सन्देश र उर्जा दिएको पाइन्छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको अगुवाइमा सदरमुकाम क्षेत्र भित्रमात्रै दर्जनौंपटक योगअभ्यास भैसकेको र यसले आम मानिसलाई ध्यान केन्द्रित गरिसकेको हुँदा पनि यो अत्यन्तै महत्त्वपूर्ण रहिआएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल आफै पनि बौद्धिक व्यक्तित्व भएको र आध्यात्मिक क्षेत्रमा समेत उहाँ अत्यन्तै नजिक भएकोले पनि अहिले समग्र घरपझोङ गाउँपालिका योगमय भएको छ भन्दा फरक नपर्ने अध्यक्ष लालचनले बताउनुभयो ।
