घरपझोङमा पहिलोपटक अटोरिक्सा सेवा सञ्चालन

सुशीलबाबु थकाली
मुस्ताङ ०२ भदौः मुस्ताङ जिल्ला सदरमुकाम आसपासका स्थानीयबासी र आगन्तुक पर्यटकलाई मध्यनजर गरी घरपझोङ गाउँपालिकाले तीन पाङग्रे सवारी साधन सञ्चालनमा ल्याएको हो । जसलाई टेम्पो, अटोरिक्सा तथा इ–रिक्सा भनिन्छ । सहरबजारमा गुड्ने अटोरिक्सालाई मुस्ताङ जिल्लामै पहिलोपटक घरपझोङ गाउँपालिका क्षेत्रमा गुड्ने गरी सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले बताउनुभयो ।
हाललाई व्यवस्थित सडक नहुन्जेलसम्म टेम्पो, अटोरिक्साका लागि रूट तथा भाडा दर समेत तोकेपछि चिमाङ, उपल्लो स्याङ र ढुम्बा सम्ले गाउँ बाहेक सबै बस्तीमा पुग्ने गरी तीनवटा अटोरिक्सा सञ्चालनमा ल्याइएको हो । देख्दा सामान्य लागेपनि मुस्ताङ जिल्लामा अटो रिक्सामा यात्रा नयाँ र नौलो हुनेछ ।

टेम्पो, अटोरिक्साको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिङ लालचन र प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले संयुक्त रुपमा उद्घाटन गर्नुभइ उक्त टेम्पो, अटोरिक्सामा केहि बेर सवार गर्नुभएको थियो । विशेष गरी मुस्ताङ घुम्न आउने आन्तरिक तथा वाह्य पपर्यटकलाई जोमासोम आसपासका पर्यटकीयस्थलमा जान सहज हुने गरी तत्काल तीनवटा अटोरिक्सा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताउनुभयो, अधिकारीले भन्नुभयो– ‘‘छोटो रुटमा हिड्ने पर्यटकलाई सहज हुन्छ र समयको समेत सदुपयोग हुनेछ, यसका लागि हामीले चालक र पर्यटकको पनि नियमित अनुगमन समेत गर्नेछौ ।’’
गाउँपालिकाले कच्ची र जोखिमको मापन गरी पालिका भित्रकै केही स्थानहरु बाहेक गाउँपालिका भित्रका सबैजसो बस्तीमा पुग्ने गरी न्यूनतम १ सयदेखि रिजर्भको ५ सय रुपियाँसम्म भाडा तोकिएको छ । रुट कायम गरिएको क्षेत्रमा न्युनतम एक जना यात्रु भएपनि बोक्नुपर्ने नियम बनाइएको छ । मुस्ताङ घुम्न आएका पर्यटक जोमसोममा बास बस्ने क्रममा पर्यटकलाई अटो रिक्सा सेवा प्रभावकारी भएमा संख्या थप गर्न सकिने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । तीन पाङ्ग्रे सार्वजनिक यातायात संञ्चालन भएपछि यात्रुका लागी धेरै सहज हुने अनुमान गरेको अध्यक्ष लालचनको भनाई छ । यसैबीच अटोरिक्सा मापदण्ड अनुसार सञ्चालन गर्न जिल्ला ट्र«ाफिक प्रहरीले समेत नियमित अनुगमन तथा चेकजाँच गर्नेछ अध्यक्ष लालचनले बताउनुभयो, उहाँले भन्नुभयो–“ घरपझोङ गाउँपालिकाभित्र रहेका ढुम्बा ताल, हिमचितुवा गुफा सहित अन्य पर्यटकीयस्थलमा जाँदा ट्याक्सी र जीपमा महँगो भाडा तिनुपर्ने बाध्यता थियो ।” अब भने त्यो समस्या समाधान भएको छ, अध्यक्ष लालचनले बताउनुभयो ।
