दसैंको लागि मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा बाहिरिदै

सुशीलबाबू थकाली
मुस्ताङ, (जोमसोम) २० साउनः
नेपालीहरुको महान पर्व दसैँ तिहारलाईँ लक्षित गरी यसवर्ष मुस्ताङ जिल्लाबाट करिब १२ हजार भन्दा बढी भेडाच्याङ्ग्रा देशका विभिन्न सहरहरुमा निकासी हुने भएको छ । चाडपर्वको चहलपहल बढेसँगै मुस्ताङको कोरोला नाका भएर उत्तरी सीमाना तिब्वतबाट भित्रिने बाहेकको मुस्ताङमा मात्रै उत्पादन भएको ११ हजार ५०० च्याङ्ग्रा र लगभग ६ सयको हाराहारीमा लोकल भेडा बिक्री हुने पूर्व अनुमान गरिएको हो ।
उपल्लो मुस्ताङ स्थित लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदरकुण्ड गाउँपालिका र तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट सबैभन्दा बढी भेडाच्याङ्ग्रा निकासी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईका कार्यालय प्रमुख भरतराज गौतमले बताउनुभयो । गौतमका अनुसार हाल यस क्षेत्रमा मात्रै करिब १९ हजार भन्दा बढी च्याङ्ग्रा रहेको बताउनुभयो । हाल मुस्ताङका सबै च्याङ्ग्रा पालक कृषकले विशेषगरी मुख्य चाडपर्वका लागि भनेरै यहि समयमा नै बिक्री गर्ने तयारी गरेका हुन्छन् एकाइ प्रमुख गौतमले बताउनुभयो, उहाँले भन्नुभयो–“हाल मुस्ताङ जिल्लाभर १ सय किसान सूचिकृत कृषकको गोठमा ५६ हजार च्याङ्ग्रा रहेकोमा मासुजन्य प्रयोजनका लागि सूचिकृत किसानबाट ११ हजार ५०० सयको हाराहारीमा च्याङ्ग्रा जिल्ला बाहिरिदै छ ।” मुस्ताङ जिल्लामा चरिचरनक्षेत्र र गोठालाको अभावले गर्दा कृषकलाई धरैभन्दा धेरै कठिनाई भएको छ । यद्यपी भेडा च्याङ्ग्राको नश्ल सुधार तथा व्यवस्थापन गर्दै बढीभन्दा बढी मासु उत्पादनलाई जोड दिएका छौ– गौतमले बताउनुभयो ।


योसँगै तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाको चरन क्षेत्रबाट सूचिकृत नभएका कृषकहरूले समेत भेडाच्याङ्ग्रा निकासी हुने गरेको पाईन्छ । हाल किसानको गोठमै एउटा च्याङ्ग्रा बिक्री गर्नका लागि योग्य बनाउन प्रतिकेजी ११ सय ९२ रुपैयाँ खर्च हुने गरेको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिका, लोमान्थाङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्थित खर्क तथा लेकहरुमा प्रयाप्त घाँस नहुनु, गोठालोको अभाव जस्ता चरम समस्याका कारण यतिबेला मुस्ताङमा माग अनुसार भेडाच्याङ्ग्रा उत्पादन हुन नसकेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा.लालमणी अर्यालले बताउनुभयो, उहाँले भन्नुभयो–“हाल मुस्ताङमा ५ हजार ५ सय संख्यामा रहेको भेडामध्ये दसँैंतिहारलाई लक्षित ६ सय वटा बिक्रीका लागि लैजाने तयारी अवस्थामा रहेको छ ।” चाबाडमा तिब्वतबाट पनि भेडाच्याङ्ग्रा आउँछन् । मुस्ताङबाट बाहिरने सबै भेडाच्याङ्ग्राको जोमसोम र घाँसामा स्वास्थ्य परीक्षण गरेर मात्रै पठाउने गरेको केन्द्र प्रमुख डा.अर्यालले भन्नुभयो । अहिले बजारको माग थेग्न नसक्दा तिब्बतबाट आयात हुने भेडाच्याङ्ग्रा सहित मुस्ताङका एक दर्जनभन्दा बढी घुम्ती गोठमा भएको र घरपालुवा लामकाने बाख्रा, भेडा र बिकासे च्याङ्ग्राले बजारको माग धान्न नसक्ने उहाँले बताउनुभयो, उहाँले भन्नुभयो–“मुस्ताङमा प्राय सिजनमा भेडाच्याङ्ग्राले माग नधान्दा यहाँका किसान र विचौलियाले मूल्य बढाउने गरेका पाईएको छ ।” सम्भवत यसवर्ष मुस्ताङमै उत्पादन भएको पिओर च्याङ्ग्रालाई ३५ हजार भन्न्दा बढी पर्ने अनुमान गरिएको छ ।


म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल, भैरहवा र चितवन लगायत क्षेत्रबाट मुस्ताङ पुगेका ढाई दर्जन बढी व्यापारी तथा विचौलियाले भेडाच्याङ्ग्रा पालकको गोठ गोठमै पुगेर नगद दिई अग्रिम रुपमै खरिद गरिसकेका छन् । विशेष गरि मुस्ताङको भेडाच्याङ्ग्रा किन्न र खान रुचाउनुका कारण उच्च हिमाली भेगमा पाईने जडीबुटीहरु यार्सागुम्बा, पाँचऔंले, निरमसी, तिते लगायत बुकी घासहरु खाएर हुर्केकोे हुन्छ । यसकारण मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले व्यापारीहरुसँगै ग्राहकले समेत रोज्जा भेडाच्याङ्ग्रा खरिद गर्ने गर्छन् ।  

Facebook Comments Box